११ भदौ, काठमाडौं । रौतहटमा भएको एक क्रुर हत्याकाण्डमा नयाँ तथ्यहरू बाहिर आएका छन् । एक बन्द सुटकेसभित्र मृत भेटिएकी २६ वर्षीया रुवी साहको हत्याको आरोप लागेका लक्ष्मण पासवानले आफैँलाई आगो लगाएर शरीर जलाएका छन् ।
शरीरमा आगो लगाउनुअघि उनले एउटा भिडियो सन्देश पोष्ट गरेको पाइएको छ । उक्त भिडियोमा उनले रुवीको हत्या गरेको स्वीकार गरेका छन् । आफ्नो शरीरमा आगो लगाउनुअघि बनाइएको भिडियोमा लक्ष्मणले गम्भीर मानसिक तनावमा रहेको देखाएका छन् । उनले भनेका छन् ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो ज्यान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ, १०÷१५ वर्ष सजाय भोग्नुपर्छ। ।
भिडियोमा उनले रुवीसँगको लामो समयदेखिको प्रेम सम्बन्धबारे पनि खुलासा गरेका छन् । उनीहरूले स्कुलको बेलादेखि नै प्रेम गरेको र अदालतमा गएर विवाहसमेत गरेको उनले बताएका छन् । तर, आफू गरिब भएकाले पारिवारिक तनावका कारण यो दुखद घटना भएको उनको भनाइ छ ।
के थियो घटना ?
गत शनिबार राति गौर–सिरसिया सडकखण्डमा एउटा बेवारिसे सुटकेसभित्र रुवीको शव भेटिएको थियो । भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बस्थिन् र आफ्नो ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुवीको हत्या गौरस्थित एक घरमा गरिएको र रिक्सामा राखेर शव फालिएको खुलेको छ । रुवीको माइत र लक्ष्मणको घर एउटै टोलमा भएकाले उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
हत्याको मुख्य आरोपी मानिएका लक्ष्मण पासवान आफ्नो शरीरमा आफैँले आगो लगाएको अवस्थामा आज बिहान माधवनारायण नगरपालिका–६ स्थित नहरअगाडि भेटिएका छन् । उनलाई गम्भीर अवस्थामा प्रहरीले नियन्त्रण लिएर अस्पताल पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । यो घटनाले प्रेम सम्बन्धमा आएको जटिलता र त्यसले निम्त्याएको त्रासपूर्ण परिणामलाई उजागर गरेको छ ।















