११ भदौ, काठमाडौं । नेपालको पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्गको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ।
सडक विभागले यसलाई असोज महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्म यस आयोजनाको भौतिक प्रगति ९४।५ प्रतिशत रहेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारी साधनको यात्रा थप सहज र छिटो हुने अपेक्षा गरिएको छ ।
सञ्चालनका लागि सरकारको तयारी
सुरुङमार्गको व्यवस्थापन, मर्मत र चौबीसै घण्टा सेवा प्रदान गर्नका लागि सरकारले विशेषज्ञ सेवा प्रदायक कम्पनी छनोट गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि आवश्यक बोलपत्रको नमुना तयार भइसकेको छ। सुरुङ प्रयोग गर्ने सवारी साधनबाट शुल्क उठाउने निर्णय पनि भइसकेको छ।
यसबाट उठेको रकम सुरुङको मर्मतसम्भारमा खर्च गरिनेछ। अत्याधुनिक प्रविधिस् शुल्क संकलनका लागि आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेशन) प्रणाली जडान गरिँदैछ। यस प्रविधिले बैंक खातासँग जोडिएको आरएफआईडी ट्यागमार्फत सिधै शुल्क भुक्तानी गर्न सकिनेछ।















