Logo

१२ भदौ, काठमाडौं । बिहीबार बिहान डडेल्धुरामा भएको एक दुःखद घटनामा चार जनाको ज्यान गएको छ ।

नवदुर्गा गाउँपालिका–५ चौडमा भएको जिप दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार, उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप करिब पाँच सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

मृतकको पहिचान भएको छ। उनीहरू नवदुर्गा–५ कै बासिन्दाहरू १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् । गम्भीर घाइते सुशिला विक र चालक रामबहादुर साउदलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।


सम्बन्धित समाचार
भर्खरै