१२ भदौ, काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा ठूलो परिवर्तन आउने संकेत देखिएको छ। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा अब विदेशी एयरलाइन्सहरूको चासो बढ्न थालेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै अस्ट्रेलिया उडान हुने सम्भावना बढेको छ। चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। आगामी सेप्टेम्बरदेखि नै उडान सुरु गर्ने कम्पनीको योजना रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।
सिचुवान एयरलाइन्सले यसअघि पनि पोखरामा चार्टर उडान गरिसकेको छ। यदि यो उडान नियमित भएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक महत्त्व बढ्नेछ।
भुटान एयरलाइन्सको पनि चासो
सिचुवान एयरलाइन्स मात्र होइन, भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्स (टासी) ले पनि पोखराबाट चार्टर उडान गर्ने तयारी गरेको छ। कम्पनीले पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर उडानको अनुमति मागेको छ। यदि यो उडान सफल भएमा कम्पनीले पोखरा–दिल्ली–पोखरा र पोखरा–पारो–पोखरा उडान नियमित गर्ने योजना बनाएको छ।
भैरहवामा पनि चहलपहल बढ्दै
यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि फेरि चलायमान हुने भएको छ। विगतमा उडान स्थगित गरेका जजिरा एयरवेज र थाई एयर एसियाले फेरि भैरहवाबाट उडान सुरु गर्ने भएका छन् । दुवै कम्पनीले आगामी विन्टर सिजनमा नियमित उडानको तयारी गरिरहेका छन्।
पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई आकर्षित गर्न सरकारले विभिन्न छुट र सहुलियतका प्याकेजहरू पनि घोषणा गरेको छ। यसमा यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट र ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट समावेश छन् । यसले विदेशी एयरलाइन्सलाई नेपालका यी नयाँ विमानस्थलहरूमा उडान गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।















