१२ भदौ,सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ स्थित श्री ने.रा. मा.वि. कठकुइया बसन्तपुर पकडी टोलमा वडा स्तरीय सरसफाइ तथा जनचेतना कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रम जिराभवानी गाउँपालिका–१ को आयोजनामा र सशस्त्र प्रहरी बल BOP महादेव पट्टीको सहजीकरणमा सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय वरिपरि बृहत सरसफाइ गरिएको र विद्यार्थीहरूलाई जनचेतनामूलक प्रशिक्षण पनि दिइएको थियो।
कार्यक्रममा जिराभवानी गाउँपालिका–१ का वडा अध्यक्ष रामशरण ख्वास, गाउँपालिकाका पूर्व उपाध्यक्ष उषा देवी थरुनी, श्री ने.रा. मा.वि. का प्राचार्य कृपासिन्धु पटवारी, सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाट नेतृत्व गरिएको टोली, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, विद्यार्थीहरू र स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालय र समुदायलाई सफा र सचेत बनाउने अभियान
कार्यक्रमको क्रममा विद्यालय परिसर सफा गर्ने, फोहोर व्यवस्थापनको अभ्यास गराउने, तथा स्वच्छता र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। सशस्त्र प्रहरी बलको सक्रिय सहयोगले स्थानीयहरूमा स्वच्छ वातावरणप्रतिको सोच बलियो बनाउने विश्वास लिइएको छ।
स्थानीय प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समुदायमा सफाइप्रतिको जागरूकता बढाउने मात्र नभई विद्यालयका विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिने मौका मिल्ने बताएका छन्।















