१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ नियम लागू गरेको छ ।
अब चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर भएका संस्थापक सेयरधनीहरूले लाभांश पाउन योग्य हुने छैनन् । राष्ट्र बैंकले बुधबार जारी गरेको ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत यस्तो व्यवस्था गरिएको हो । लाभांश प्राप्त गर्नका लागि संस्थापक सेयरधनीहरूले आफ्नो सेयर हिस्सा २५ प्रतिशतमा झार्नुपर्नेछ। नयाँ कार्यविधिले २०७७ सालमा लागू भएको पुरानो कार्यविधिलाई प्रतिस्थापन गरेको छ।
यो कदमले लघुवित्त क्षेत्रमा केही संस्थापक सेयरधनीहरूको ठूलो हिस्सालाई नियन्त्रण गर्ने र सेयरको वितरणलाई थप न्यायपूर्ण बनाउने उद्देश्य लिएको छ। यसबाट केही संस्थापकहरूलाई आफ्नो सेयर घटाउनुपर्ने बाध्यता हुनेछ।















