Logo

१२ भदौ,ठोरी । साविक निर्मलवस्ती गाविस–६ मा निर्माण भएको तर वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनालाई अन्ततः सुचारु गर्ने तयारी अघि बढाइएको छ। सोही उद्देश्यले उपभोक्ता समिति पुनर्गठन गरिएको हो।

ठोरी गाउँपालिका–४ स्थित गापा कार्यालयको सभाहलमा बिहीबार बसेको सरोकारवालाको भेलाले हस्त बहादुर पाख्रीनको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो। समिति पुनर्गठनसँगै आयोजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

नवगठित समितिको उपाध्यक्षमा तिलक कुमार श्रेष्ठ, सचिवमा चिनलाल पाख्रीन र कोषाध्यक्षमा पसङ लामा चयन भएका छन्। समितिमा सुन्दर टोल, शान्ति टोल, पिपलडाँडा, आठघर, मिलचोक, गुम्बालाईन, विशालचोक, फायरलाइन र ठाडोलाइनबाट प्रतिनिधित्व हुने गरी सदस्य चयन गरिएको गापा अध्यक्ष श्रेष्ठले बताए।

दशैंअघि नै अस्थायी सञ्चालनको तयारी

गापा अध्यक्ष श्रेष्ठका अनुसार, “दशैं अघि नै अस्थायी रूपमा भए पनि आयोजनाबाट खानेपानी वितरण सुरु गर्ने तयारीमा छौं।“ समितिलाई सञ्चालन कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिइएको उनले बताए।
एक दशकअघि निर्माण भएको ओभरहेड ट्याङ्की आजसम्म सञ्चालनमा आउन सकेको छैन। सो क्षेत्रमा खानेपानीको अभावका कारण स्थानीयहरू डिप बोरिङ र जापानीज चापाकलको पानीमा भर पर्ने बाध्यतामा छन्।

यसअघि पनि उपभोक्ता समिति गठन गरिएको भए तापनि राजनीतिक किचलोका कारण आयोजना अघि बढ्न सकेको थिएन। हालसम्म ट्याङ्की निर्माण र हुलाकी सडक किनारमा पाइपलाइन मात्र विच्छ्याइएको अवस्थामा थियो।
हाल गाउँपालिका कार्यालयसमेत समेटिने यस क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न नवगठित समितिले पहल थालेसँगै स्थानीयवासीमा आशा पलाएको छ।


सम्बन्धित समाचार