१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भदौ १४ देखि १८ गतेसम्म हुने चीन भ्रमणलाई अनुमोदन गरेको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी, प्रधानमन्त्रीले ‘एससीओ प्लस समिट’ लाई सम्बोधन गर्ने र जापानको उपनिवेशविरुद्धको विजयको ८० औँ वार्षिकोत्सवका अवसरमा हुने सैन्य परेडमा समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, पर्यटन तथा संस्कृति मन्त्रीहरू, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत उच्च अधिकारीहरू रहनेछन्। प्रधानमन्त्री भदौ १८ गते स्वदेश फर्किनेछन्।
विशेष अदालतमा न्यायाधीश नियुक्ति
यस्तै, मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को परामर्शमा विशेष अदालतका अध्यक्ष र सदस्यहरू पनि तोकेको छ। उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट अध्यक्ष र सदस्यहरू उच्च अदालत, जनकपुर -वीरगन्ज इजलास) का न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइराला तोकिएको छ ।















