१४ भदौ, काठमाडौँ । उखु किसान र सरकारबीच हिजो साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसहितको टोलीसँग भएको छलफलमा कुनै सहमति नजुटेको उखु किसान सङ्घर्ष समितिका केन्द्रिय प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए।
वार्तामा कृषिमन्त्री अधिकारीले केही दिनका लागि आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। तर किसान सङ्घर्ष समितिले आन्दोलन नरोकिने, बरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने चेतावनी दिएको छ। समितिले उखुमा सरकारले प्रदान गर्दै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान यथावत कायम गर्नुपर्ने मागमा अडान लिएको छ।
आज बिहान माइतीघरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको आगामी स्वरूपबारे जानकारी गराउने तयारी किसान समितिले जनाएको छ। गएको आइतबारदेखि सुरु भएको आन्दोलन आज सातौँ दिनमा प्रवेश गरेको छ।
१३ जिल्लाबाट आएका किसान काठमाडौंमा धर्ना, जुलुस लगायतका कार्यक्रम गरिरहेका छन्। लामो बसाइ र चापका कारण कतिपय किसान बिरामी पर्न थालेका समितिले जनाएको छ।
यसबीचमा सरकारले गत मङ्गलबार मात्र किसानलाई अनुदानबापत ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको थियो। तर यो रकम प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र हुने बताइएको छ। जबकि यसअघि सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको दरले किसानलाई अनुदान उपलब्ध गराउँदै आएको थियो।
किसानहरूले पुरानै दर कायम गर्नुपर्ने अडान दोहोर्याएपछि सरकार–किसानबीचको विवाद अझै टुंगिन नसकेको छ।















