१५ भदौ, काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा ऋण प्रवाह गर्न सकिने रकम (तरलता) अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले यसलाई नियन्त्रणमा लिन थप कदम चालेको छ।
आज, आइतबार पनि केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले यो तरलता व्यवस्थापनका लागि २१ दिनको निक्षेप संकलन उपकरण प्रयोग गर्दैछ । यो प्रक्रिया आज दिउँसो ३ बजे बोलकबोल मार्फत हुनेछ, जहाँ क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउनेछन् । निक्षेप संकलनको ब्याजदर बहुब्याजदरमा बोलकबोल गर्न सकिने सुविधा पनि दिइएको छ ।
बढेको तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यो महिनामा मात्र पाँचौं पटक यस्तो कदम चालेको हो । यसअघि भदौ १ गते ६० अर्ब, भदौ ४ गते ३० अर्ब, र भदौ ११ गते ५० अर्ब तथा ४५ अर्ब रुपैयाँ गरी कुल १८५ अर्ब रुपैयाँ तरलता प्रणालीबाट बाहिर निकालिसकेको छ ।
यो निक्षेप संकलन उपकरणको सावाँ र ब्याज असोज ५ गते भुक्तानी हुनेछ। यसबाट बजारमा रहेको अधिक तरलता घट्ने र मुद्रास्फीतिमाथि नियन्त्रण कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।















