१७ भदौ, काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ।
विशेषगरी कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कोसी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।
यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।
विभागले वर्षासँगै नदी–नाला र खोलामा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।















