Logo

१८ भदौ, बारा । भवन अभावका कारण वर्षौंदेखि समस्यामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका–१६, टाँगिया बस्तीस्थित शान्ति आधारभूत विद्यालयलाई ६ कोठे नयाँ भवन हस्तान्तरण गरिएको छ।

श्री साथी नेपालको समन्वय र चाइल्ड रेस्क्यु नेपालको सहकार्यमा बनेको भवनको उद्घाटन प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठले गरे। उनले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै विद्यालय कम्पाउन्ड नहुँदा विद्यार्थीलाई जंगली जनावरबाट खतरा हुने भएकाले प्रदेश सरकारमार्फत बजेट विनियोजन गर्ने आश्वासन दिए।

कार्यक्रममा चाइल्ड रेस्क्यु नेपालका कन्ट्री डायरेक्टर भास्कर कार्कीले विद्यालयको संरचनागत अवस्था दयनीय रहेकाले बेलायतका सहयोगीहरूमार्फत सहयोग जुटाएर भवन निर्माण सम्भव भएको बताए। श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले आगामी दिनमा पनि आवश्यक विद्यालयहरूको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

यसै क्रममा वडा नं. १४ की अध्यक्ष चयन गुरुङले टाँगिया बस्तीमा एम्बुलेन्सको अभावले आपत्कालीन अवस्थामा समस्या हुने भन्दै सहयोग जुटाएर भए पनि एम्बुलेन्स ल्याउने बताइन्। उपप्रमुख भोला अधिकारीले एम्बुलेन्स खरिद महँगो भए पनि यस क्षेत्रमा आवश्यकता भएकाले नगरले त्यसतर्फ ध्यान दिने जानकारी दिए।

नयाँ भवन हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल, वडा नं.१४ की अध्यक्ष चयन गुरुङ, समाजसेवी रमेश सापकोटा लगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

गत सोमबार पनि श्री साथी नेपालको समन्वयमा नेपाल अपाङ्ग सेवा संघ, बारालाई ४ कोठे आवासीय भवन हस्तान्तरण गरिएको थियो।


सम्बन्धित समाचार