Logo

२० भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको छ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल–सुखी नेपाली हाम्रो गन्तव्य” नारासहित सुरु भएको महाधिवेशनमा दुई हजार ३४१ प्रतिनिधि सहभागी भएका छन्। विधानसम्बन्धी विषयलाई प्राथमिकता दिँदै त्यसपछि मात्र वैचारिक बहस गर्ने नयाँ अभ्यास गरिएको एमालेले जनाएको छ।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्म १८ स्वागतद्वार निर्माण गरिएका छन्। आवागमन सहज बनाउन निःशुल्क सवारी व्यवस्थासमेत गरिएको छ।

सभा हलमा दुई हजार ८४० सिट क्षमता रहेको छ। हलभित्र छिर्ने चारवटा प्रवेशद्वारमध्ये पहिलो द्वार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि मात्र तोकिएको छ भने अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री र प्रतिनिधि दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रवेश गर्नेछन्।

सभाहल पूर्ण डिजिटल प्रणालीमा जोडिएको छ। दुई हजार दुई सय स्क्वायर फिटको डिजिटल बोर्ड, वाइफाईसहितको मिडिया सेन्टर, प्रतिनिधिको परिचय स्क्यान गर्ने कम्प्युटर बूथलगायत अत्याधुनिक व्यवस्था मिलाइएको प्रचार विभागले जनाएको छ।

हलभित्र पार्टी संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीका साथै कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका पूर्णकद तस्बिर सजाइएको छ। सभाहलको वातावरणलाई आकर्षक बनाउन फोहोरामा सेता हाँसका जोडीसमेत राखिएका छन्।

आज बिहान ११ बजे सुरु हुने उद्घाटन कार्यक्रम १२ मिनेटमै सकिने छ। कार्यक्रममा मंगल धुन, सहिदप्रति श्रद्धाञ्जलि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट धुन बजाइने छ।

उद्घाटनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले पनि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

२१ भदौमा सबै प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिनेछ। छलफलका लागि हलभित्र र बाहिर छुट्टाछुट्टै स्थान तोकिएको छ।


सम्बन्धित समाचार
भर्खरै