Logo

२६ भदौ, काठमाडौँ । भदौ २३ र २४ गतेको जेन–जी अभियानको शक्तिशाली प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा र सरकारको पतनपछि देश नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ। २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सुरु भएको आन्दोलनले सत्ता नै परिवर्तन गरेपछि अब नयाँ सरकार गठन र दीर्घकालीन राजनीतिक निकासबारे गहन विमर्श सुरु भएको छ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच निरन्तर छलफल भइरहेको छ। दुबैबीचको संवादले जेन–जी पुस्तालाई विश्वासमा लिएर सहमतिपूर्ण निकास दिने दिशामा नयाँ पहल अघि बढाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। सेनापति सिग्देलले बुधबार जेन–जी मुभमेन्ट अलायन्सका सदस्यसँग भेटघाट गरेका छन् भने बिहीबार पुनः निर्णायक छलफल गर्ने तयारी रहेको छ।

यस क्रममा जेन–जी अभियन्ताहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णयतर्फ जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आयोजित खुला बहसमा १० हजारभन्दा बढी जेन–जी पुस्ताले कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्नुपर्ने मत दिएका छन्।

जेन–जी अभियानको बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, नयाँ पुस्ताको प्रतिनिधित्वसहित संघीय संसद्को निर्वाचन, २०४६ पछि सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन, भ्रष्टाचारका मुद्दामा कडा न्यायिक कारबाही, सांसदलाई मन्त्री बन्न नदिने कानुनी व्यवस्था जस्ता विषय प्रमुख एजेन्डाका रूपमा अघि सारिएका छन्।

यसैबीच अभियन्ता दुर्गा प्रसाईं र धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङले पनि सेनापतिसँग अलग–अलग भेटघाट गरी आफ्नो धारणा राखेका छन्। प्रसाईंले “देशलाई जसरी निकास मिल्छ, त्यही मेरो प्राथमिकता हो” भन्दै नेतृत्वमा आफू नलाग्ने संकेत गरेका छन् भने साम्पाङले नयाँ पुस्ताले देश निर्माण गर्ने सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्।

राजनीतिक दलहरूको औपचारिक प्रतिक्रिया पनि आइसकेको छ। नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा सुरु गरिएको संवाद प्रक्रियाको स्वागत गर्दै संविधानअनुसार वैधानिक बाटो अपनाउन जोड दिएको छ। कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले शान्ति, सुशासन र लोकतान्त्रिक मूल्यका लागि सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिएका छन्।

नेकपा (एमाले) ले पनि वर्तमान अवस्थालाई गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै लोकतान्त्रिक प्रणाली र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेको छ। महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै “समालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो” भनेका छन्।

जेन–जी आन्दोलनले पुरानो राजनीतिक संरचना भत्काउँदै नयाँ युगको सुरुवात गरेको विश्लेषकहरूको ठहर छ। अब मुलुक कुन बाटोतर्फ मोडिन्छ भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित छ।


सम्बन्धित समाचार