Logo

२६ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक वृत्तमा उथलपुथल ल्याइरहेका बेला अब राजनीतिक दलका विद्यार्थी संगठनहरू पनि सडकमा उत्रिएका छन्।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले तथा नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठनहरूले छुट्टाछुट्टै प्रदर्शन गरी संविधानको रक्षा र शान्तिपूर्ण वातावरणको माग गरेका छन्।

नेविसंघको मागः विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर

नेविसंघले काठमाडौंको बानेश्वरमा विदेशी हस्तक्षेप बन्द गरु र संविधानको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति संकेत गर्दै उनीहरूले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे भन्ने नारा पनि लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जेनजीको प्रदर्शनपछि राजीनामा दिएका थिए। सोही दिन प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवासमा आगजनी गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो। यसपछि नेपाली सेना परिचालन गरिएको थियो।

एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनको साझा अडान

नेविसंघको प्रदर्शनकै समयमा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनहरू पनि सक्रिय भएका छन्। काठमाडौंको नेपाल कमर्स क्याम्पस, मीनभवनमा भेला भएका उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने नाराका साथ प्रदर्शन गरे।

अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जालमा लेखेका छन्, न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ। सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनीति हो। उनको यो भनाइले विद्यार्थी संगठनहरू अब मुलुकमा भइरहेको घटनाक्रमप्रति मौन नबस्ने र संविधानको रक्षाका लागि एक हुने सन्देश दिएको छ।


सम्बन्धित समाचार