२६ भदौ, काठमाडौं । बृहत् नागरिक आन्दोलनले हालैको राजनीतिक परिस्थितिबारे गम्भीर चासो व्यक्त गर्दै जेन-जी आन्दोलनलाई संविधानको जगमा अगाडि बढाउनुपर्नेमा जोड दिएको छ।
आन्दोलनले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामापछि भइरहेका गतिविधिहरूमाथि प्रश्न उठाएको छ।
बालेन शाहलाई कित्ता स्पष्ट पार्न आग्रह
आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आफ्नो अडान स्पष्ट पार्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, यदि उनी संविधानबाहिरका गतिविधिमा संलग्न छन् वा नेपाली सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका छन् भने उनलाई पनि प्रतिक्रान्तिका नायकु को रूपमा चिनिनेछ। यस विषयमा उनले तुरुन्तै आफ्नो अडान स्पष्ट पार्नुपर्ने आन्दोलनको माग छ।
सेना र राष्ट्रपतिलाई विशेष आग्रह
विज्ञप्तिमा नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। जेन-जी आन्दोलनका सहिदहरूको बलिदानमाथि टेकेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै सेनाको मुख्यालयमा भइरहेको वार्ता असाध्यै डरलाग्दो र अस्वीकार्यु भएको बताइएको छ।
बृहत् नागरिक आन्दोलनले सेनालाई प्रतिक्रान्तिकारीहरूसँगको सबै अन्तरक्रिया तुरुन्तै बन्द गर्न र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू आयोजना गर्न आग्रह गरेको छ। आन्दोलनका अनुसार, अहिलेको सबैभन्दा बलियो किल्ला २०७२ को संविधान हो, र यसैको जगमा भ्रष्टाचार र बेथितिविरुद्ध अघि बढ्नुको विकल्प छैन।

















