२७ भदौ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका कैदी तथा थुनुवामध्ये १ हजार ५ सय ६७ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरूलाई सम्बन्धित कारागार वा थुनुवा कक्षमा राखिएको छ ।
पक्राउ परेकामध्ये १ हजार ५ सय ९ जना कैदीबन्दी र ५८ जना थुनुवा रहेका छन् । तर अझै १२ हजार ५ सय ३३ जना कैदीबन्दी र ७ सय ९५ जना थुनुवा फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी छ ।
प्रहरी प्रधान कार्यालयले फरार थुनुवालाई सम्बन्धित कारागार वा प्रहरी कार्यालयमा फर्किन सार्वजनिक रूपमा अनुरोध गरेको छ । यसैगरी, कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गर्दै फरार रहेका सबै बन्दीलाई तत्काल कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ कि सार्वजनिक सूचनाको पालना नगर्ने वा फर्कन असफल हुने व्यक्तिहरूमाथि कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
प्रहरीले नागरिकसँग सहयोगको अपील गर्दै फरार कैदी तथा थुनुवाको छिटो फिर्तीमा ध्यान दिन आग्रह गरेको छ ।















