२८ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। आजै प्रधानमन्त्री पदको शपथ लिएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गरेकी थिइन्।
राष्ट्रपतिले संसद् विघटनको निर्णयसँगै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति समेत तोक्नुभएको छ। शीतलनिवासले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगलाई तयारी अघि बढाउन निर्देशन दिइएको छ।
गत सोमबार र मंगलबार भएको जेन–जी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेकी हुन्। सामाजिक सञ्जालमार्फत गरिएको छलफल र दबाबपछि कार्कीको नाम अघि सारिएको थियो। सो आन्दोलनलाई काठमाडौंबाट मेयर बालेन्द्र शाहसहित विभिन्न व्यक्तिहरूले समर्थन जनाएका थिए।
मुलुकको इतिहासमै पहिलोपटक नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै जननिर्वाचित संसद् विघटन गर्ने निर्णय गरेको छ। यस घटनालाई राजनीतिको असामान्य तर निर्णायक मोडका रूपमा हेरिएको छ।















