२८ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनपछि भड्किएको हिंसाका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिको पहिचान तथा नियन्त्रण गर्न सुरक्षा निकायहरूले विशेष खोजी अभियान सञ्चालन गरेका छन्।
प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक अपिल जारी गर्दै हत्या, लुटपाट, आगजनी, तोडफोडलगायत अपराधमा संलग्नहरूको सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित कारागार कार्यालयहरूले समेत कारागार भत्काएर भागेका कैदीबन्दीलाई स्वेच्छाले फिर्ता हुन अपिल गरेका छन्।
आन्दोलनको अवसर छोपेर देशभरका विभिन्न कारागारबाट १४ हजार ४३ कैदीबन्दी तथा थुनुवा फरार भएका थिए। तीमध्ये करिब ३ हजारजना मात्रै पक्राउ परेका छन् भने बाँकीको खोजी जारी रहेको प्रहरी प्रवक्ता कार्यालयले जनाएको छ। भारत भाग्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिएको छ र केही कैदीबन्दी भारतबाट समेत पक्राउ परेका छन्।
हिंसात्मक गतिविधिमा संलग्न समूहले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटबाट २८ नाल घातक हतियार समेत लुटेका छन्। लुटिएका हतियारमा ६ थाल एलएलआर, ४ नाल इन्सास र १८ नाल थ्री–नट-थ्री राइफल रहेको प्रहरी स्रोतले जनाएको छ। महाराजगन्ज प्रहरी वृत्तका तीन प्रहरी जलेर ज्यान गुमाएका छन् भने सुरक्षा उपकरण, पोसाक र सवारीसाधन समेत लुटपाटमा परेका छन्।
सुरक्षा निकायहरूले संयुक्त कमाण्डमा देशभर सर्च एन्ड अपरेसन सञ्चालन गरिरहेका छन्। लुटिएका केही हतियार नियन्त्रणमा लिइए पनि ती आन्दोलनकै क्रममा लुटिएका हुन् वा अन्य, यकिन नभएको प्रहरी अधिकारीहरूले बताएका छन्।
हिंसाका क्रममा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसहितका संरचना जलेर नष्ट भएका छन्। सरकारी र निजी सम्पत्तिमा समेत तोडफोड र लुटपाट भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, अपराध अनुसन्धान कार्यालय टेकु र दर्जनौं प्रहरी युनिट समेत खरानी भएका छन्।
प्रहरी प्रधान कार्यालयले शुक्रबार पुनः अपिल जारी गर्दै आपराधिक गतिविधिमा संलग्नको फोटो, भिडियो तथा सामाजिक सञ्जालका लिंक उपलब्ध गराउन आम नागरिकलाई आग्रह गरेको छ। सुरक्षा निकायका अनुसार फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिनु अहिलेको मुख्य चुनौती बनेको छ।















