२९ भदौ, काठमाडौँ । आगामी बडादशैंमा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुहरूको सहज व्यवस्थाका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज निर्णायक छलफल हुँदैछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बस्ने उक्त छलफलमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुने भएका छन्। छलफलपछि टिकट बुकिङ खोल्ने मिति सार्वजनिक गर्ने तयारी गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)का अनुसार दशैं नजिकिएकाले सरकारले औपचारिक रूपमा छलफलमा बोलाएको हो। “वर्षाको अवस्था, शान्ति–सुरक्षाको स्थिति लगायत सबै पक्षको विश्लेषणपछि मात्र निर्णय हुनेछ,” उनले बताए।
हालै जेनजी युवाको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना, तोडफोड, आगजनी र लुटपाटपछि उपत्यकामा कर्फ्यु लगाइएको थियो। कर्फ्यु हट्दै गए पनि सुरक्षाको वातावरणप्रति व्यवसायीहरूमा अझै शंका बाँकी रहेको सिटौलाले बताए। उनका अनुसार सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न पूर्ण रूपमा तयार छन्।
यस वर्षको दशैंको मुख्य टीका असोज १६ गते परेको छ। उपत्यकाबाट दशैं मनाउन विभिन्न जिल्लामा जाने यात्रुहरूको भीडलाई लक्षित गर्दै सरकारले अग्रिम टिकट बुकिङ प्रक्रिया स्पष्ट र व्यवस्थित बनाउन कदम चाल्न लागेको हो।















