काठमाडौं, ६ असोज। संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई दिइने भिसामा कडाइ गरेपछि अब प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, साउदी अरब र कतारले पनि भिसा दिनमा कडिकडाउ गर्न थालेका छन् ।
पछिल्लो जेनजी आन्दोलन र जेलबाट कैदी भागेको घटनापछि यी देशले सुरक्षा चुनौतीको कारण देखाउँदै यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ।
के भन्छन् मेनपावर व्यवसायी?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले यूएईपछि अन्य खाडी देशले पनि भिसा दिन असहज बनाएको बताएका छन्। ‘विगतका दिनमा सहजै पाइने भिसाका लागि अहिले थप कागजात, विशेषगरी नयाँ प्रहरी रिपोर्ट माग गरिएको छ। यसले गर्दा भिसा अस्वीकृत हुने दर बढेको छ,’ उनले भने।
यूएईको कदम र त्यसको असर
यूएईले सेप्टेम्बर १५ देखि नै नेपालीका लागि भिजिट भिसामा पूर्ण रोक लगाएको छ भने वर्किङ भिसामा पनि कडाइ गरेको छ। जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरू आफ्नो देशमा प्रवेश गर्न सक्ने डरले यूएईले यस्तो गरेको बताइएको छ।
यूएईको यो कदमले दैनिक ५०० भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको योजनामा असर परेको छ। यसअघि यूएईले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई समेत भिसा दिन अस्वीकार गरेको थियो।
परराष्ट्र मन्त्रालयको बैठक
नेपालीलाई भिसामा भइरहेको यो कडाइसँगै परराष्ट्र मन्त्रालयले यो विषयमा छलफल गर्न मंगलबार राजदूतावासहरूसँग बैठक बोलाएको छ। मन्त्रालयले पछिल्लो परिस्थितिबारे आधिकारिक जानकारी लिन र समाधानका उपाय खोज्न प्रयास गर्नेछ।
मलेसिया, साउदी र कतारमा पनि भिसाका लागि आवेदन दिँदा थप कागजात मागिने र अस्वीकृत हुने क्रम बढेको छ। यसले नेपाली श्रमिकहरूलाई थप अन्योलमा पारेको छ।















