काठमाडौं, ६ असोज। जेनजी आन्दोलनले केपी शर्मा ओलीको सरकार ढलेपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
उनले आफूसँग अझै ९ वटा मन्त्रालयको जिम्मेवारी राखेकी छन् । भदौ २९ गते प्रधानमन्त्री बनेको ११ दिनपछि उनले तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । रामेश्वरप्रसाद खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा र भौतिक पूर्वाधार, र ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । आज सोमबार चार जना नयाँ मन्त्री थपिएका छन् । यससँगै मन्त्रिपरिषद्को संख्या ८ पुगेको छ। नयाँ मन्त्रीहरूमा अनिलकुमार सिन्हा (कानुन, उद्योग र भूमि), मदन परियार (कृषि), जगदीश खरेल .(सञ्चार) र महावीर पुन (शिक्षा) मन्त्री बनेका छन्।
मन्त्रीहरूको जिम्मेवारीमा हेरफेरः
ओमप्रकाश अर्यालको जिम्मेवारी घटाइएको छ। उनले यसअघि पाएको कानुन मन्त्रालय अब अनिलकुमार सिन्हालाई दिइएको छ। रामेश्वरप्रसाद खनाललाई भने अर्थ मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ। कुलमान घिसिङ र अनिलकुमार सिन्हाले तीन(तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री कार्कीले अहिले पनि खानेपानी, परराष्ट्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या गरी ९ वटा मन्त्रालय आफैँसँग राखेकी छन्। उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरे पनि बाँकी तीन मन्त्रीको नियुक्ति कहिले हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।















