६ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ स्थित चिनिमिल आवासक्षेत्रको पर्यटन विकास कार्यालय अगाडिबाट एकजना अन्दाजी ३५ वर्षीय पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो उद्दार गरेको छ।
उद्दार गरिएको व्यक्तिले आफ्नो नाम, थर खुलाउन नसक्ने अवस्था रहेको जनाइएको छ। मानवसेवा आश्रमका अनुसार सोमबार दिउँसो २ः४५ बजे उद्दार गरिएको ती पुरुषलाई तत्काल आश्रममा ल्याइएको हो।
उद्दार कार्यमा संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, आश्रम परिवार संयोजक एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, आश्रमका केन्द्रीय सदस्य बिबेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा तथा स्वयंसेवक दिपान्सु पटेल, सरोज बी.के. र दिपेन्द्र चौधरी को सक्रिय सहभागिता रहेको थियो।
उद्धारपछि आश्रममा लगिएको ती पुरुषको पहिलो चरणमा सरसफाइ तथा नुहाउने, लुगा फेर्ने कार्य सम्पन्न गरिएको छ। अहिले उनी डा. भरत गोईको चिकित्सकीय निगरानीमा छन् र आवश्यक औषधोपचार भइरहेको आश्रमले जनाएको छ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले यसअघि पनि सडकमा अशक्त, मानसिक रूपमा अस्थिर, सहयोगविहीन अवस्थाका नागरिकहरूको उद्दार गर्दै आएको छ। आश्रमले यस्ता उद्दारकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सबैलाई सहयोग र सहकार्यको अपिल गरेको छ।
सडकमा जीवन यापन गरिरहेका असहाय नागरिकहरूलाई संरक्षण दिने कार्यमा मानवसेवा आश्रमको यो पहल सामाजिक उत्तरदायित्व र मानवताको सशक्त उदाहरणका रूपमा हेरिएको छ। प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ तथा स्थानीय स्वयंसेवकहरूको सहकार्यले उद्दारकार्य सफल भएको हो।















