काठमाडौं, ६ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेलगत्तै तीनवटा महत्वपूर्ण निर्णय गरेका छन् ।
उनले जनआन्दोलनमा ज्यान गुमाएका सहिदका परिवार र घाइतेहरूलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । पूर्वन्यायाधीशसमेत रहेका मन्त्री सिन्हाको यी निर्णयहरूले सुशासन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति झल्काएको छ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले गरेका निर्णयहरू यस प्रकार छन्:
सहिद परिवार र घाइतेलाई रोजगारी: जनआन्दोलनमा योगदान दिएका सहिद परिवार र घाइतेहरूलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गरिने।
स्वदेशी उत्पादनको प्रयोग: सबै सरकारी निकायहरूमा फर्निचर र अन्य निर्माण सामग्रीहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने।
अनलाइन सेवाको विस्तार: अत्यावश्यक नभएका कामहरूका लागि नागरिकलाई कार्यालय धाउन नपरोस् भनेर अनलाइन सेवालाई थप विस्तार गरिने।















