Logo

७ असोज, वीरगञ्ज । जेन–जीको आन्दोलनका क्रममा क्षति पुगेको वीरगञ्ज गण्डकस्थित प्रहरी चौकीलाई विभिन्न सामाजिक संस्थाले आवश्यक सामग्री सहयोग गरेका छन्। प्रहरी सेवाको नियमित सञ्चालन सहज बनाउन सहयोगस्वरूप सामग्री हस्तान्तरण गरिएको हो ।

उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त पहलमा गरिएको सहयोगमा कुर्सी, टेबुल, चापाकल, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री समावेश छन्। यी सामग्रीले प्रहरी चौकीको दैनिक कार्यालयीन कामकाज र सेवाप्रवाहलाई सहज बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, वीरगञ्ज पब्लिक कलेजका दीपक शाक्य तथा उत्कर्ष नेपालका सम्पूर्ण टोलीले सामग्री व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

प्रहरी चौकी पुनः सञ्चालनमा सहजता ल्याउने उद्देश्यले गरिएको यस योगदानले स्थानीय स्तरमा कानून–व्यवस्था सामान्य अवस्थामा फर्काउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै