Logo

७ असोज, सिरहा । सिरहाको गोल बजारमा एक किशोरको अपहरणपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारीअनुसार गोल बजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंह मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार सिंह असोज ५ गते रातिदेखि बेपत्ता भएका थिए। रातभर खोजतलास गर्दा पनि नपाइएका उनीबारे असोज ६ गते बिहान करिब ८ बजे उनकी आमाको मोबाइलमा आएको सन्देशमार्फत् मात्र अपहरणमा परेको जानकारी परिवारले पाएका थिए। उक्त सन्देशमा अभिषेक अपहरणमा परेको र पैसा मागिएको उल्लेख थियो। परिवारले सो सन्देश तत्काल प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले बताए।

आज बिहान करिब ६ बजे अभिषेक आफ्नै आफन्तको आँप गाछिमा मृत अवस्थामा भेटिएका छन्। प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक प्रमाण संकलन गरेको छ।

एसपी शर्माका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ। अपहरण र हत्यामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

अचानक अपहरण र हत्या प्रकरण सार्वजनिक भएपछि गोल बजार आसपासको क्षेत्रमा त्रास फैलिएको छ। स्थानीयले दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै