७ असोज, काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा एक १५ वर्षीय किशोरको अपहरणपछि क्रूरतापूर्वक हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ।
यस संवेदनशील घटनाको अनुसन्धान गर्दै प्रहरीले मृतकका आफन्त र छिमेकी गरी ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, गोलबजार नगरपालिका–१३, भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा अभिषेक सिंह गत आइतबार राति ८ बजेदेखि बेपत्ता थिए । परिवारले रातभर खोजतलास गर्दा पनि उनी फेला परेनन् । सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट उनकी आमाको मोबाइलमा हिन्दी भाषामा फिरौती मागिएको सन्देश आएको थियो ।
सन्देशमा भनिएको थियो ‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’ यस सन्देशपछि परिवारले तत्काल प्रहरीमा खबर गरेका थिए। तर, फिरौतीको माग गरिएकै दिन अभिषेकको शव घर नजिकैको आँप बगैंचामा फेला पर्यो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार, फिरौती माग्ने र हत्या गर्ने शैलीले यो घटनामा नजिकका मानिसको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । सोही आशंकामा अनुसन्धान अघि बढाउँदै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो। अनुसन्धान प्रभावित नहोस् भनेर उनीहरूको परिचय गोप्य राखिएको छ । यो जघन्य अपराधको गहिराइमा पुग्न प्रहरीले तीव्र अनुसन्धान गरिरहेको छ।















