Logo

७ असोज,वीरगञ्ज । नेपाल–भारत सीमावर्ती सहर रक्सौलमा चाडपर्वका लागि नेपाली ग्राहकहरूको भारी चहलपहल देखिएको छ। नेपाली उपभोक्ताहरू सस्तो मूल्यमा सामान किनमेल गर्न रक्सौलका बजार तर्फ आकर्षित भएका कारण वीरगन्ज बजार सुनसान बनेको छ।

खुला सिमाना र भारतमा नेपालभन्दा सस्तो मूल्यमा उपलब्ध उपभोग्य वस्तुहरूका कारण बारा, मकवानपुर, चितवन लगायतका जिल्लाका मानिसहरू पनि रक्सौलतर्फ किनमेल गर्न जाने गरेका छन्। विशेषगरी चिनी, खाने तेल, चामल, दाल, मसलाहरू जस्ता दैनिक आवश्यक सामानहरूमा मूल्य अन्तरले उपभोक्ताहरूलाई भारततर्फ जान बाध्य बनाएको छ। रक्सौलमा रु. ७४ पर्ने चिनी वीरगन्जमा रु. ९० पर्ने गरेको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले यस वर्ष ‘सस्तो बजार’ कार्यक्रम नलाग्ने निर्णय गर्नुपर्ने अवस्था आएको बताए। नेपाली ग्राहकहरूको रक्सौल जान बढ्दो रुचिले वीरगन्जका व्यापारीहरूलाई चिन्तित बनाएको छ।

वीरगञ्ज भन्सार नाकाका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले पनि चाडपर्व र बिदाको दिनमा रक्सौल जाने नेपालीहरूको भीड निरन्तर बढ्दो रहेको पुष्टि गरे।

कोरोना महामारीपछि कमजोर बनेको वीरगन्ज बजार अझै उठ्न नसकेको अवस्थामा यस्तो अवस्था व्यवसायीहरूका लागि थप चुनौतीपूर्ण बनेको छ। उनीहरूले सरकारले अव्यावहारिक भन्सार नीति सुधार गरेर नेपाली व्यवसायीहरूको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।


सम्बन्धित समाचार