Logo

काठमाडौं, असोज ७ – बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती उर्फ ‘गोरे’ कारागार फर्किएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका उनी करिब दुई साताको अनुपस्थिति पछि पुनः कारागारमा प्रवेश गरेका हुन् । कारागार स्रोतका अनुसार, भागेका केही दिनपछि नै उनले आफन्त मार्फत कारागार फर्किने सन्देश पठाएका थिए र सोही अनुसार उनी फर्किएका हुन् ।

सन् २०१५ देखि २०१८ सम्म ३८ क्विन्टल सुन तस्करी गरेको आरोप लागेका गोरे प्रहरीका फरार सूचीमा थिए। पछि मोरङमा सनम शाक्यको हत्या भएपछि अनुसन्धानको क्रममा उनको समूहले तस्करी गरेको सुनको ठूलो परिमाण सार्वजनिक भएको थियो। तत्कालीन गृहमन्त्रालयको छानबिन समितिले गोरेको समूहले सो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो।

सुन बरामद नभए पनि जिल्ला अदालत, मोरङले शाक्यको हत्या आरोपमा गोरेलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी सोही फैसला अनुसार पुर्पक्षमा थिए। उनीसँगै कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टेकनारायण पाण्डे भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।


सम्बन्धित समाचार