Logo

७ असोज, काठमाडौं । दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ।

तर, मनसुन अझै सक्रिय रहेकाले यो यात्रामा वर्षा र पहिरोको जोखिम कायमै छ। यस्तो अवस्थामा यात्रुहरूलाई यात्रा गर्नुअघि मौसमबारे विशेष जानकारी राख्न आग्रह गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
मंगलबार कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुनेछ। तर, कोशी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। बुधबार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। बिहीबार भारी वर्षाको सम्भावना निकै कम छ । अधिकांश स्थानमा मध्यम वर्षा मात्रै हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यात्रुहरूका लागि सावधानी

विभागले दसैँका लागि विशेष मौसम बुलेटिन पछि निकालिने जनाएको छ । त्यसैले, अहिलेको अवस्थालाई ध्यानमा राख्दै यात्रामा निस्कनुअघि मौसमको पछिल्लो जानकारी लिन र पहिरो तथा बाटो अवरोधको सम्भावनालाई मध्यनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिएको छ । यस वर्षको दसैँमा सुरक्षित यात्राका लागि सबै यात्रुहरूले मौसमबारे सचेत रहनु अत्यावश्यक छ।


सम्बन्धित समाचार