Logo

७ असोज,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो ३:२० बजे खसेको भीषण सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार पहिरो यति ठूलो मात्रामा खसेको छ कि त्यसले सडक नै भासिने खतरा उत्पन्न भएको छ। “सडक भासिन सक्ने उच्च जोखिमका कारण तत्काल सडक खुल्ने कुनै सम्भावना छैन,” उनले जानकारी दिए।

स्थिति गम्भीर रहेकाले अहिले सडक विभागका प्राविधिक टोली र सुरक्षा निकायहरू सम्मिलित बैठक बसिरहेको छ। घटनास्थलमा निरन्तर पहिरो खसिरहेकाले तत्कालै सडक खुलाउने प्रयास सम्भव नरहेको एसपी पुरीले बताए।

सडक अवरुद्ध भएपछि प्रहरीले सवारीसाधनलाई फर्काउने कार्य जारी राखेको छ र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

हालसम्मको जानकारीअनुसार पहिरो हटाउने वा सडक मर्मत कार्य कहिलेदेखि सुरु गर्न सकिन्छ भन्ने टुंगो लाग्न बाँकी छ। यात्रु तथा सवारी चालकहरूलाई सुरक्षित यात्रा र आधिकारिक सूचनाको प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ।


सम्बन्धित समाचार