Logo

९ असोज, वीरगञ्ज । केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक कैदीलाई प्रहरीले पर्सामा पक्राउ गरेको छ । पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार पर्साको कालिकामाई गाउँपालिका–५ निवासी ४० वर्षीय मुक्ति नारायण कुर्मीलाई पक्राउ गरिएको हो ।

कैदी आईडी नम्बर ३८८८१६८ रहेका कुर्मीलाई ३५ वर्षीया आफ्नै पत्नी संगिता देवी कुर्मीको घाँटी थिचेर हत्या गरेको अपराधमा सम्मानित अदालतले २५ वर्ष कैद सजाय तोकेको थियो। उनी सो सजाय भोगिरहेको क्रममा गत भदौ २४ गते Gen-Z आन्दोलनका बीच केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार विशेष सूचनाको आधारमा असोज ७ गते साँझ करिब ७ः३० बजे निजकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

फरार कैदीलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रवक्ता बस्नेतले भने, “फरार अवस्थामा रहेका कैदीलाई पक्राउ गरी पुनः कानूनी प्रक्रियाअन्तर्गत कारबाही अगाडि बढाइएको छ। यस किसिमका घटनामा संलग्न हुनेलाई कसैलाई पनि उन्मुक्ति दिइने छैन।”

यसअघि फरार भएको समाचार सार्वजनिक भएपछि प्रहरीले कैदीको खोजी कार्यलाई तीव्र बनाएको थियो। प्रहरीको उच्च सतर्कता र स्थानीय सहकार्यका कारण कैदीलाई छोटो समयमा नै नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।


सम्बन्धित समाचार