Logo

१० असोज, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यस वर्ष करिब ११ अर्ब रुपैयाँभन्दा बढी निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट छ अर्ब पाँच करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका थिए। यस वर्ष भने सोही अवधिमा निर्यात रकम १८१ प्रतिशतले वृद्धि भई १७ अर्ब तीन करोड पुगेको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, चालु आवको दुई महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १:२० बाट सुधार भएर १:६० मा पुगेको छ। उनले निर्यातमा आएको यो वृद्धि उत्साहजनक रहेको टिप्पणी गरे।

चालु आवको दुई महिनामा मात्र रु ८ अर्ब ८४ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। यो अवधिमा ४ करोड २८ लाख २४ हजार ८७१ लिटर तेल विदेश निर्यात भएको हो। गत आवको सोही अवधिमा भने केवल ४८० लिटर (३ लाख मूल्य बराबर) मात्र निर्यात भएको थियो।

त्यस्तै, फलफूलको जुस पनि निर्यातमा प्रमुख स्थानमा परेको छ। चालु आवको दुई महिनामा रु १ अर्ब २४ करोड मूल्य बराबरको १ करोड २६ लाख ९५ हजार ७३२ लिटर जुस निर्यात भएको छ। गत आवको सोही अवधिमा भने यो परिमाण १ करोड ३६ लाख ४८ हजार १५५ लिटर (मूल्य करिब १ अर्ब २९ करोड) थियो।

यस्तै, सूर्यमुखीको प्रशोधित तेल पनि निर्यात सूचीमा उल्लेखनीय देखिएको छ। चालु आवको दुई महिनामा मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबरको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखी तेल निर्यात भएको छ। गत आवको सोही अवधिमा यस वस्तुको निर्यात नगन्य मात्रामा मात्र भएको थियो।

भन्सार प्रमुख ज्ञवालीका अनुसार, यस वर्षको प्रारम्भिक दुई महिनामै निर्यातमा देखिएको उच्च वृद्धि उत्साहजनक संकेत हो। “निर्यात प्रवर्धनका लागि सरकारले गरेका नीतिगत पहल र निजी क्षेत्रको सक्रियताले यसमा टेवा पु¥याएको छ,” उनले बताए।

विशेषगरी तेलजन्य वस्तु तथा जुसको उच्च निर्यातले समग्र वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पारेको बताइन्छ।


सम्बन्धित समाचार
भर्खरै