१० असोज, वीरगञ्ज । खुला ढल र फोहोर मिसिएको धमिलो पानी खानेपानी पाइपमा पसेपछि पर्सा जिल्लामा एक महिनाभन्दा लामो समयदेखि हैजाको महामारी रोकिएको छैन। दूषित पानीकै कारण हैजाको प्रकोप झन् व्यापक बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
जिल्लाभर हैजाका बिरामी अस्पताल भर्ना हुने क्रम रोकिएको छैन। हालसम्म १ हजार ५ सय ८७ जना बिरामी उपचारका लागि अस्पताल पुगिसकेका छन्। नारायणी अस्पतालको तथ्यांकअनुसार, अहिले पाँच जना बिरामी आईसीयूमा, दुई जना एचडीयूमा र २८ जना जनरल वार्डमा उपचाररत छन्। पछिल्लो २४ घण्टामात्रै २० नयाँ संक्रमित थपिएका छन्।
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार, चार सातादेखि फैलिरहेको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन। “दैनिक १५–२० जना बिरामी अस्पताल आइरहेका छन्। संक्रमण घट्नुपर्ने हो, तर अहिले पनि निरन्तर थपिँदै छ,” उनले बताए।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले दूषित खानेपानीलाई हैजाको प्रमुख कारणका रूपमा औंल्याउँदै भने, “समस्याको जड नै खानेपानी पाइपलाइनमा ढल मिसिनु हो। सफा र मर्मत हुन नसक्दा संक्रमण बारम्बार दोहोरिएको छ।” उनका अनुसार वीरगञ्ज महानगरपालिका–१२ र १३ क्षेत्रमा हैजा बढी देखिएको छ।
यसअघि सरकारले पानीमा क्लोरिन मिसाएर शुद्धीकरण गरेको थियो । तर, क्लोरिन प्रयोग रोकिएपछि संक्रमण फेरि चर्किएको चिकित्सकहरूले बताएका छन्। युनिसेफले प्रभावित क्षेत्रका घर-घरमा क्लोरिन वितरण सुरु गरे पनि यसलाई दीर्घकालीन समाधान मान्न सकिँदैन ।
“मुहान र ढलको पाइपलाइन मर्मत नभएसम्म हैजा मात्र होइन, अरू पानीजन्य रोग पनि फैलिने जोखिम उच्च छ,” डा. सिंहले चेतावनी दिए ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले वीरगञ्जमा हैजाको फैलावटलाई सरसफाइ व्यवस्थापनमा देखिएको कमजोरीसँग जोड्दै भने, “शौचालयको अभाव, हात नधोई खाना–पानी खानु र सडकछेउका असुरक्षित खानेकुराले संक्रमणलाई अझ फैलाइरहेका छन्।”
उनले स्थानीय बासिन्दालाई उमालेको वा शुद्ध पानी मात्र प्रयोग गर्न, रेस्टुरेन्टमा खाना खान्दा सावधानी अपनाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार, समस्या पानीको मूल स्रोतमै भएकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण छ। “पानीको मुहानमा प्रदूषणको स्रोत हटाइएन भने क्लोरिन प्रयोग रोकिँदै जाँदा फेरि पानीजन्य रोगहरू फैलिने जोखिम रहन्छ,” उनले भने।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव भएकाले नियन्त्रणमा ढिलाइ भएको स्वीकार गरेका छन्।
अस्पतालमा हैजा संक्रमितको चाप बढ्दै गएको छ। डा. सिंहका अनुसार, बिरामीमा अत्यधिक पातलो सेतो चौलानीजस्तो दिसा, मांसपेसी बाउँडिने, बान्ता हुने र थकानजस्ता लक्षण देखिएको छ। परीक्षण गरिएका बिरामीमध्ये आधाभन्दा बढीमा हैजा पोजिटिभ पाइएको छ।
विशेषज्ञहरूले तत्काल खानेपानीको पाइपलाइन मर्मत, दीर्घकालीन शुद्धीकरण प्रणाली र समुदायस्तरमा प्रभावकारी सरसफाइ अभियान नचलाइए हैजाको संक्रमण अझ भयावह हुन सक्ने चेतावनी दिएका छन्।

















