Logo

२१ जेठ,वीरगञ्ज । मधेस प्रदेशमा बाल कुपोषणको समस्या अझै पनि गम्भीर रहेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका १३३ स्थानीय तहमा सञ्चालन गरेको विशेष स्वास्थ्य अभियानका क्रममा परीक्षण गरिएका बालबालिकामध्ये करिब १६ प्रतिशतमा कुपोषण तथा शीघ्र कुपोषणको समस्या देखिएको हो।

निर्देशनालयका अनुसार २ लाख ८३ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ४४ हजार ६ सय ५४ जनामा कुपोषण र शीघ्र कुपोषणको गम्भीर लक्षण फेला परेको छ। यो संख्या परीक्षण गरिएका कुल बालबालिकाको १५.७६ प्रतिशत हो।

तथ्याङ्कअनुसार ३५ हजार ८ सय ८३ जना बालबालिका कुपोषित र ८ हजार ७ सय ७१ जना अति शीघ्र कुपोषित अवस्थामा रहेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यस्तो अवस्था सार्वजनिक स्वास्थ्यका दृष्टिले चिन्ताजनक मानिन्छ।

स्वास्थ्यकर्मीहरूका अनुसार गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान कुपोषणका प्रमुख कारण हुन्। यी समस्याका कारण मधेस प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।

परीक्षण गरिएका बालबालिकामध्ये २ लाख ३३ हजारभन्दा बढी सामान्य अवस्थामा रहेको भए पनि कुपोषण न्यूनीकरणका लागि सरकारी तथा सामाजिक स्तरबाट थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा ओगटेको मधेस प्रदेश बाल जनसङ्ख्याको दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ। देशभर जन्मिने कुल बालबालिकामध्ये करिब २९ प्रतिशतको जन्म मधेस प्रदेशमा हुने भएकाले यहाँको पोषण अवस्था सुधार गर्नु राष्ट्रिय प्राथमिकताको विषय भएको विज्ञहरूको भनाइ छ।


सम्बन्धित समाचार