११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी, नवरात्रको छैटौँ दिन शनिबार नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिएको छ। पञ्चमी तिथिमा परेकाले श्रद्धालु भक्तजनले देवी स्कन्दमातालाई आराधना गर्दै घरघरका दशैँघरदेखि शक्तिपीठसम्म पूजा अर्चना गरेका छन्।
पुराण अनुसार, स्कन्दमाता भगवती पार्वतीकै रूप हुन्। स्कन्दकुमार (कुमार कार्तिकेय) की माता भएकाले ‘स्कन्दमाता’ नामकरण गरिएको मान्यता छ। गोरो वर्ण भएकी स्कन्दमातालाई चार हात र काखमा ६ मुख भएका स्कन्दकुमारसहित चित्रण गरिएको पाइन्छ। कमलको आसनमा बसेकी कारण उनलाई ‘पद्मासना’ पनि भनिन्छ। स्कन्दमाताको स्वरूपलाई मातृरूपको प्रतीकका रूपमा मानिन्छ।
नवरात्रमा प्रत्येक दिन क्रमैसँग नवदुर्गामध्ये एक देवीको पूजा गर्ने परम्परा छ। मार्कण्डेय पुराणअन्तर्गतको देवीमाहात्म्य अनुसार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ रूपलाई ‘नवदुर्गा’ भनिन्छ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि नै दशैँघरमा ‘दुर्गाघट’ स्थापना गरेर नवमीसम्म प्रत्येक दिन फरक–फरक देवीको उपासना गर्ने परम्परा रहँदै आएको छ।
नवरात्रभरि महाकाली, महालक्ष्मी र महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गरिन्छ। यस अवसरमा मन्दिर तथा शक्तिपीठमा विशेष पूजाआजा, भजन–कीर्तन र भक्तजनको भीड लाग्ने गरेको छ।















