११ असोज, सेढवा (पर्सा) । दशैँ–तिहार जस्ता ठूला पर्वलाई लक्षित गर्दै पर्साका ग्रामीण क्षेत्रका नाकामा सशस्त्र प्रहरीले सुरक्षा कडाइ गरेको छ । भारतसँग खुला सिमाना जोडिएको भएकाले चाडपर्वको अवसरमा पटका, विस्फोटक पदार्थ, कपडा लगायतका सामान तस्करी तथा अवैध गतिविधि बढ्ने सम्भावना रहेकाले विशेष चेकजाँच थालिएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले आफ्नो क्षेत्रमा पर्ने भारतसँग जोडिएका दशौता, पीडारी, गुठिपाण्डेपुर र महादेवपटी नाकामा चेकपोष्ट स्थापना गरी निगरानी बढाएको जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुराज उप्रेतीका अनुसार कडाइपछिको चेकजाँचले भारततर्फबाट हुने कपडा, पटका र विस्फोटक पदार्थको तस्करीमा उल्लेख्य कमी आएको छ। उनले भने, “चाडपर्वलाई सुरक्षित र भयरहित बनाउन हाम्रो प्राथमिकता चोरी–तस्करी नियन्त्रण नै हो। निगरानी प्रणाली कडा बनाएपछि धेरै अवैध क्रियाकलाप घटेका छन्।”
यस्तै, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरले पनि चाडपर्वलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रमा पर्ने विजयबस्ती, निर्मलबस्ती, ब्रह्मनगर र ठोरी नाकामा चेकपोष्ट स्थापना गरी कडाइ गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनालले क्षेत्रभित्र लामो समयदेखि चल्दै आएका अवैध गतिविधिलाई निस्तेज पारिएको दाबी गरे। उनले भने, “तस्करी नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने सबै खालका अवैध क्रियाकलाप अन्त्य गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ।”
सशस्त्र प्रहरीले स्थानीय निकाय र समुदायसँगको समन्वयमा पर्वलाई लक्षित गरी थप सुरक्षा रणनीति लागू गरिएको र सीमा क्षेत्रमा असामाजिक गतिविधि रोक्न निरन्तर चेकजाँच जारी राखिने स्पष्ट पारेको छ ।















