१४ असोज,वीरगञ्ज । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा जोडिएको वीरगञ्ज नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगञ्ज–रक्सौलसहित आसपासका सीमा क्षेत्रहरूमा सुरक्षा व्यवस्था चुस्त पारेको हो।
पर्सा प्रहरीले यस विशेष योजनाअन्तर्गत सीमा नाका र संवेदनशील क्षेत्रहरूमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ। प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार, पर्वको समयमा हुने अत्यधिक भीडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरू, खासगरी लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ र हातहतियारको तस्करी नियन्त्रण गर्न यो कदम चालिएको हो।
यस सुरक्षा योजनाको प्रभाव देखिन सुरु भइसकेको छ। तालिमप्राप्त कुकुरको सहयोगमा हालै दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउन सुगरसहित झापाका कैलाश कार्की र वीरगन्जका राहुल सर्राफलाई सोमबार राति पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक पाठकका अनुसार, तालिमप्राप्त कुकुरहरूले प्राविधिक उपकरणले पत्ता लगाउन नसक्ने गरी लुकाइएका लागुऔषध, विस्फोटक पदार्थ र हतियारजस्ता प्रतिबन्धित सामग्रीहरूलाई गन्धको माध्यमबाट सजिलै पहिचान गर्न सक्छन्। यसबाहेक, यस्तो टोली देख्दा नै अपराधीहरू डराउने र सचेत हुने भएकाले अपराध रोकथाममा ठूलो सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ।














