Logo

१५ असोज,वीरगञ्ज  । वीरगञ्जको गहवामाई मन्दिर नजिकैको दसैँ मेलामा मङ्गलवार राति युवाहरूबीच भएको झडपमा एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, बहुअरी निवासी २२ वर्षीय शीवम साह कानु (प्रसिद्ध नाम “गोल्डेन खान”) रहेका छन्। हाल उनी वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका थिए र पेशाले ई–रिक्सा चालक थिए। प्रहरी स्रोतका अनुसार, मृतकका बुबा हिन्दु र आमा मुस्लिम धर्म मान्ने हुन्।

प्रहरीका अनुसार, मङ्गलवार राति ११:४५ बजे माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि एक समूहले शीवममाथि बाँसको लट्ठीले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते भएका शीवमलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले घटना ‘ग्याङ फाइट’ नभई लक्षित आक्रमण भएको स्पष्ट पारेका छन्।उनले भने, “दुवै समूहबीच पुरानो रिसिइवीका कारण विवाद भएको देखिन्छ। यो सुनियोजित आक्रमणजस्तो लागिरहेको छ।”प्रहरीले घटनापछि तत्कालै १० जना युवालाई नियन्त्रणमा लिएको छ। तर, ती सबैको प्रत्यक्ष संलग्नता पुष्टि नभएको र अनुसन्धान जारी रहेकाले पहिचान हाल सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

घटना गहवामाई मन्दिरबाट केही सय मिटरको दूरीमा भएको हो। दसैँ मेला जस्तो भिडभाड हुने अवसरमा, जहाँ प्रहरीको बाक्लो उपस्थिति रहने बताइन्छ, त्यहाँ यस्तो घटनाले पर्सा प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।स्थानीय बासिन्दाहरूले प्रहरीको ढिलासुस्ती, कमजोर उपस्थिति र समयमै कारबाही गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले यस्ता लापरवाहीका कारण घटनाहरू दिनानुदिन बढिरहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एसपी पाठकका अनुसार, “पोस्टमार्टमपछि थप जानकारी सार्वजनिक गर्न सकिनेछ। अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ।”घटनाले मेलाजस्ता सार्वजनिक स्थलहरूमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तत्कालीन र दीर्घकालीन उपायको आवश्यकतालाई औँल्याएको छ।


सम्बन्धित समाचार
भर्खरै