Logo

प्रतिकात्मक चित्र

१५ असोज, वीरगञ्ज । बारा र मकवानपुरको सिमानामा अवस्थित चुरियामाई मन्दिर नजिकै मङ्गलवार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने केही अन्य घाइते भएका छन्।

दशैंको अवसरमा मेला लाग्ने चुरियामाई मन्दिर उकालोतर्फ जाँदै गरेको यात्रुबाहक बस अचानक पछाडि गुड्न थालेपछि दुर्घटना भएको हो। बसले ओरालोमा पार्क गरिएको मोटरसाइकललाई किचेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सो क्षेत्रमा सवारी आवागमनमा असहजता आएको छ। स्थिति सामान्य बनाउन इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट थप प्रहरी टोली घटनास्थलमा खटाइएको छ।

नवरात्रिको समयमा चुरियामाई मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। यसले गर्दा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको स्थानीयहरूले बताएका छन्।

सुरक्षा निकायले दशैंका अवसरमा चुरियामाई मन्दिर क्षेत्रको सवारी व्यवस्था अझ व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्। घटनाको विस्तृत विवरण अझ आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै