Logo

१५ असोज,वीरगञ्ज । मकवानपुरस्थित भिमफेदी कारागारबाट केही समयअघि जेनजी समूहको आन्दोलनको मौका छोपी फरार भएका एक कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले प्राप्त गोप्य सूचनाका आधारमा मंगलबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका वडा नं. १६, बसपार्क क्षेत्रबाट फरार कैदी अमजत मियाँलाई नियन्त्रणमा लिएको हो।

२५ वर्षीय मियाँ पर्सा जिल्ला अदालतको आदेशअनुसार लागू औषध सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनी २०८२ साउन २५ गते, जेनजी समूहले कारागारमा गरेको आन्दोलनको समयमा भिमफेदी कारागारबाट भागेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख अनुसार, पक्राउ परेका मियाँमाथि आवश्यक कानूनी प्रक्रिया पूरा गरी उनलाई पुनः भिमफेदी कारागारमा पठाउने तयारी भइरहेको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई खोजतलास तीव्र बनाएको जनाएको छ। यस्ता फरार अभियुक्तहरूको खोजी र नियन्त्रणमा प्रहरी अझ सतर्क र सक्रिय रहने प्रतिवद्धता समेत जनाएको छ।

 


सम्बन्धित समाचार