१६ असोज,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३ नयाँवस्तीमा भुस्याहा कुकुरको टोकाइबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २२ वर्षीय इन्द्र ब्लोन रहेका छन्।
परिवारका अनुसार केही दिनअघि भुस्याहा कुकुरले टोकेका इन्द्रको स्वास्थ्य स्थिति सुरुमा सामान्य देखिए पनि पछि जटिल बन्दै गएको थियो। उनलाई काठमाडौंस्थित टेकु अस्पताल लगिएको थियो, तर उपचार सम्भव नभएपछि बुधबार घर फर्काउने क्रममा बाटोमै उनको मृत्यु भएको हो।
मृतकका भाइ विनोद ब्लोनका अनुसार गाउँमा भुस्याहा कुकुरहरूको बिगबिगीले स्थानीयवासीलाई सताइरहेको छ। “सुरुमा सानो टोकाइ जस्तो लागे पनि पछि त्यो नै ज्यानै जाने कारण बन्यो,” विनोदले गहभरि आँसु पार्दै भने।
स्थानीय बासिन्दाहरूका अनुसार गाउँमा अनियन्त्रित रूपमा कुकुरको संख्या बढिरहेको छ। बालबालिका, वृद्धवृद्धा र हिँडडुल गर्ने सर्वसाधारणलाई कुकुरको आतङ्कले दैनिक ज्यानको जोखिममा राखेको उनीहरूको भनाइ छ।
“गाउँमा राति त के, दिनदहाडै कुकुरको डरले निस्कनै गाह्रो भएको छ,” एक स्थानीय महिला बताउँछिन्, “केही समयअघि पनि विद्यालय जाँदै गरेका बालकलाई टोकेको घटना भएको थियो।”स्थानीयवासीले सरकारी निकाय र पालिकालाई पटक–पटक कुकुर नियन्त्रणका लागि आग्रह गर्दा पनि कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन्। उनीहरूले यथाशीघ्र कुकुर नियन्त्रण कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।














