२३ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथसिटी हिमाल अस्पतालमा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको घटनाले विवाद र आक्रोश निम्त्याएको छ । मृतक हुन् , रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका निवासी रुबी खातुन ।
रुबी बुधबार बिहान ४ बजे प्रसूति पीडासहित अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । तर, उपचारकै क्रममा राति उनको अचानक मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।
“अवस्था गम्भीर हुँदाहुँदै पनि अस्पतालले बेवास्ता गर्यो” पिडित परिवारको आरोप छ ।

मृतकका पति महमद मुस्ताकले अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको दाबी गरेका छन् । उनले भने “हामीले बारम्बार बिरामीको अवस्था गम्भीर देखिएको भन्दै डाक्टरलाई सर्तक हुन आग्रह गर्यो, तर अस्पताल पक्षले ‘सब ठिक छ, चिन्ता नलिनु’ भन्दै हामीलाई ढाडस दिएको थियो । राति भने अकस्मात् मृत्युको खबर दिइयो ।” मुस्ताकका अनुसार अस्पतालले बिरामीको अवस्था बिग्रँदै जाँदा समयमै आवश्यक उपचार र निर्णय गर्न ढिलाइ गर्यो ।
घटनापछि अस्पताल प्रशासनले भने रुबीको मृत्यु उपचारको क्रममा नै भएको र कुनै लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “बिरामीलाई अत्यावश्यक मापदण्डअनुसार उपचार गरिएको थियो । घटनाको वास्तविकता बुझ्न आन्तरिक रूपमा छानबिन सुरु गरिएको छ ।”
घटनापछि पीडित परिवार र स्थानीयवासीले अस्पताल परिसरमा आक्रोश प्रकट गरेका छन् । “परिवारले अस्पताललाई लापरवाहीको आरोप लगाएको छ ।
यसअघि पनि वीरगञ्ज र आसपासका अस्पतालमा प्रसूति सेवा र आपतकालीन उपचारको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ । रुबी खातुनको घटनाले पुनः स्वास्थ्य सेवा क्षेत्रको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
साउथसिटी हिमाल हस्पिटल यसअघि पनि बढी शुल्क असुलेको आरोपमा विवादमा तानिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालले उपचारका नाममा बिरामीसँग अत्यधिक रकम असुलेको र आर्थिक अनियमितता गरेको भन्ने आरोप लाग्दै आएको छ।
यस विषयमा ‘साउथ सिटी हिमाल हस्पिटलले उपचारको नाममा बिरामीलाई ठग्दै’ शीर्षकमा रेस खबर सहितका विभिन्न स्थानीय समाचार माध्यमहरूले विस्तृत समाचार प्रकाशित गरेका थिए।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ बर्षीया राजपती कुमारी दुर्घटनामा परी मंसिर १७ गते अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।
अस्पतालमा उपचार शुरु गरेपछि हस्पिटल खर्चको नाममा दुईदिनको मात्रै ९५ हजार ६ सय रुपैंया लिएको छ । औषधि खर्चमा मात्रै १३ हजार ८ सय ५४ रुपैंया अस्पतालकै लेटर हेडमा लेखेर दिएको थियो । क्यान्टिनको दुईदिनको खाना र खाजाको मात्रै १० हजार ५ सय रुपैंया लिएको थियो । अस्पतालले भ्याटबिल सहितको रकम दिनुपर्नेमा अस्पतालको लेटर हेडमा मात्रै लेखेर बिरामीको आफन्तलाई दिएको विवाद सार्वजनिक भएको थियो ।
अस्पतालले गरेको ठगीको विरुद्धमा बिरामीको आफन्त जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको थियो ।
यो पनि :
साउथ सिटी हिमाल हस्पिटलले उपचारको नाममा बिरामीलाई ठग्दै (भिडियो सहित)

















