२९ असोज काठमाडौं । देशको राजनीतिक सङ्कट गहिरिँदै जाँदा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई जेनजी आन्दोलनको आधिकारिक उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले मुलुकको नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्ने अडान दोहोर्याएका छन् । प्रचण्डले जेनजी आन्दोलनलाई लिएर दोहोरो मापदण्ड अपनाउनेहरूमाथि कडा आलोचना गरेका छन्। उनको दाबी छ कि माओवादी केन्द्र जेनजी आन्दोलनलाई समर्थन गर्ने पहिलो पार्टी हो ।
उनले भनेका छन् ‘सरकारमा बसेर जेनजीहरूलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौँ। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो।’
उनले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै यस सङ्कटको अवस्थामा माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।
निर्वाचनमा दोधार नराख्न निर्देशन
राजनीतिक अन्योलका बीच प्रचण्डले पार्टीका कार्यकर्ताहरूलाई निर्वाचन हुने वा नहुने भन्ने आशङ्कामा नबस्न निर्देशन दिएका छन् । ‘निर्वाचन हुँदैन कि भनेर दोधारमा बस्नु हुँदैन,’ उनले भने, ‘निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’ यो भनाइले माओवादी केन्द्र छिटो निर्वाचनका लागि पक्षमा रहेको संकेत गर्दछ।















