Logo

२९ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सेवा पुनः सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल औषधी उत्पादक संघ, वीरगन्ज इकाईले १० थान कम्प्युटर सेट (युपिएससहित) र ४ थान प्रिन्टर हस्तान्तरण गरेको छ।

बुधबार सम्पन्न एक विशेष कार्यक्रममा संघले उक्त उपकरणहरू सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरलाई हस्तान्तरण गरेको हो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले आगजनी गरी महानगरपालिकाको भवन, फर्निचर, सूचना प्रविधि उपकरण र महत्वपूर्ण कागजात जलेर नष्ट गरेका थिए। सो घटनाले नगरपालिकाको दैनिक प्रशासनिक कार्यप्रवाह गम्भीर रूपमा प्रभावित बनेको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघले कठिन अवस्थामा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “महानगरको दैनिक सेवा सुचारु गर्न यो सहयोग अत्यन्तै महत्वपूर्ण छ। भविष्यमा पनि यस्तै सहकार्य र साझेदारी कायम रहोस् भन्ने अपेक्षा राख्दछु।”

संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले नागरिककै सम्पत्तिमा भएको क्षति पूर्तिमा सानो भए पनि योगदान दिन पाउनु गौरवको विषय भएको बताए। उनले भने, “हाम्रो सहयोगले महानगर फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।”

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, संघका पदाधिकारीहरू विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति थियो।

यसअघि सूर्य नेपालले पनि महानगरपालिकालाई कम्प्युटर, ल्यापटप र प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको थियो।


सम्बन्धित समाचार