Logo

३० असोज, काठमाडौँ । नेपालले आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टोली ओमानलाई ३८ रनले पराजित गरेको छ। मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो।

१ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमै सीमित रह्यो। यो हारसँगै ओमानले प्रतियोगितामा पहिलो पराजय व्यहो¥यो भने नेपालको जीतसँगै उसको अंक ८ पुगेको छ। नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामोआलाई पराजित गर्न सके प्रतियोगिता नै जित्नेछ।

दिनको पहिलो दुई खेल-कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान दुवै टोली विश्वकपमा पुगेका थिए । यससँगै नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश गरेको छ।

बलिङमा नेपालको वर्चस्व

नेपालका बलरहरूले सानदार प्रदर्शन गरे। सोमपाल कामीले तेस्रो ओभरमै ओमानका कप्तान जतिन्दर सिंहलाई आउट गर्दै सुरुआतमा दबाब सिर्जना गरे। जतिन्दरले ११ बलमा १४ रन बनाए। अर्को ओभरमा नन्दन यादवले हमाद मिर्जालाई ४ रनमा आउट गरे।

दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमार्फत अमिर कलिमलाई १ रनमा रनआउट गरे। लगातार पाँचौं खेलमा सिधा रनआउट गरेका ऐरीले फिल्डिङमा उत्कृष्ट फर्म कायम राखे। गुलशन झाले ओमानका मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गर्दै खेलको पासा नेपालतर्फ मोडे।

ओमानका विनायक शुक्लाले ३२ रन र मोहम्मद नदिमले २५ रन बनाए। बाँकी ब्याटरहरू प्रभावकारी प्रदर्शन गर्न नसक्दा टोली सस्तैमा समेटियो।

नेपालका गुलशन झाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट हात पारे भने सन्दीप लामिछानेले १ विकेट लिए।

ब्याटिङमा भूर्तेलको अर्धशतक

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। यो प्रतियोगितामा नेपालको पहिलो १५० माथिको स्कोर हो।

नेपाललाई कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए। यी दुईले ८ ओभरभित्र ६१ रनको साझेदारी गरे। आसिफले २० बलमा २४ रन बनाउँदै नदिम खानको बलमा बोल्ड भए। कप्तान रोहित पौडेल १ रनमा आउट भए।

मध्यक्रम फेरि कमजोर देखियो। नदिमले दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) लाई पनि आउट गरे। यद्यपि मल्लले आफ्नो इनिङ्सका क्रममा टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन्।

कुशल भूर्तेलले एक छक्का र सात चौका प्रहार गर्दै ५१ बलमा ६९ रनको योगदान दिए। अन्त्यतिर गुलशन झाले १० बलमा १८ रन बनाए भने नन्दन यादवले ९ रन थपे। नेपालको इनिङ्सको अन्तिम क्षणमा रन गति बढेपछि स्कोर १५१ पुग्न सफल भयो।

ओमानका बाँयाहाते स्पिनर मोहम्मद नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुफियानले ४ ओभरमा २९ रन र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए।

ऐतिहासिक उपलब्धि

यस जितसँगै नेपालले न केवल प्रतियोगिताको सुपर सिक्समा अपराजित यात्रा कायम राख्यो, तर विश्वकप प्रवेश पनि सुनिश्चित गर्‍यो। अब नेपालले शुक्रबार सामोआविरुद्ध अन्तिम खेल जित्न सके एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रको उपाधि हात पार्नेछ।

नेपालको बलिङ र फिल्डिङले फेरि पनि जितको मेरुदण्ड बनेको छ भने ओपनर कुशल भूर्तेलले ब्याटिङमा स्थायित्व देखाए। नेपाल अब आगामी विश्वकपमा आफ्नो तेस्रो सहभागिताका लागि तयारीतर्फ अघि बढ्नेछ।


सम्बन्धित समाचार