Logo

३० असोज, वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको लगानीसहित ९६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जियारका अनुसार, दर्ता भएका ती उद्योगहरूमध्ये स्थिर पूँजी एक अर्ब पाँच करोड ७७ लाख ९ हजार ३६० रुपैयाँ र चालु पूँजी ६७ करोड ४४ लाख ७ हजार ५४० रुपैयाँ रहेको छ ।

गत आवमा दर्ता भएका घरेलु उद्योगहरूले दुई हजार ८९८ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ। तीमध्ये एक हजार ७३७ जना पुरुष र एक हजार १६१ जना महिला रहेका छन्। “पर्सामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ,” पञ्जियारले भने।

कार्यालयका अनुसार, उत्पादनमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन्, जसको कूल पूँजी ४३ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, कृषि तथा वनजन्य उद्योगतर्फ एक सय ४४ उद्योग दर्ता भई ३९ करोड ३५ लाख रुपैयाँ पूँजी रहेको छ।

निर्माण क्षेत्रतर्फ ७५ उद्योग दर्ता भई १० करोड ३३ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। पर्यटन क्षेत्रका १०६ उद्योगमा दुई करोड २३ लाख रुपैयाँ बराबरको पूँजी रहनेछ भने सेवामूलक क्षेत्रमा चार सय २० नयाँ उद्योग दर्ता भई ६६ करोड ८२ लाख रुपैयाँ लगानी हुने जनाएको छ।

पञ्जियारका अनुसार, पर्सा जिल्लामा घरेलु उद्योग दर्ताको दर वृद्धि हुनु साना उद्यमीहरूका लागि सहज वातावरण, बजार विस्तार र औद्योगिक पूर्वाधारमा भइरहेको सुधारका कारण हो।


सम्बन्धित समाचार