Logo

३० असोज,वीरगञ्ज । चित्रांश यूथ टिम वीरगंजको आयोजना तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा पहिलो ‘कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। युवाहरूबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजकहरू प्रकाश कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका छन् ।

संयोजकहरूका अनुसार यो प्रतियोगिता आउँदो कार्तिक ७ गते बिहान ७ बजेबाट वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ ।

प्रतियोगिता ‘सुपर सिक्स नॉकआउट’ प्रारूपमा खेलाइनेछ, जसमा वीरगंज क्षेत्रका कुल १० टिमहरूको सहभागिता रहनेछ। सबै खेलहरू ५ ओभरको हुनेछन् र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गर्ने आयोजकको योजना रहेको छ ।

पत्रकार सम्मेलनलगत्तै सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच) प्रक्रिया समेत सम्पन्न गरिने जानकारी आयोजक समितिले गराएको छ ।

आयोजक समितिले यस प्रतियोगिताले कायस्थ समुदायका युवाहरूलाई खेलकुदको माध्यमबाट जोड्न र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।


सम्बन्धित समाचार