Logo

३१ असोज, काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोट प्रतियोगिताको ट्रफी जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
शुक्रबार अल इमिरेट्स मैदानमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल बनायो। नेपालका आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको दमदार पारी खेले।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको अर्धशतकीय प्रदर्शन गरे।
लोकेश बमले ३९ रन र कप्तान रोहित पौडेलले २१ रनको योगदान गरे। सामोआका डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले समान एक–एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ३८ रन, कप्तान काबेल जस्मतले ९ रन र बेन्जामिन मिल्टाले ११ रन बनाए।
नेपालका तर्फबाट ललित नारायण राजवंशीले सर्वाधिक तीन विकेट, जबकि करण केसी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले टी–ट्वान्टी विश्वकपको एसिया र इस्ट एसिया क्षेत्रीय छनोटको उपाधि आफ्नो नाममा राख्दै आगामी विश्वकप यात्रामा बलियो संकेत दिएको छ।


सम्बन्धित समाचार