Logo

४ कात्र्तिक काठमाडौं । जसको सकुशल रिहाइको प्रतीक्षामा दुई वर्षदेखि एउटा देशले सास रोकेर बसेको थियो, आज उनी शव बनेर फर्किए-गाजाको युद्धभूमिबाट सीधा महाकाली नदीको भुजेला घाटमा। कञ्चनपुरका विपीन जोशी, जसलाई हमासले निर्ममतापूर्वक हत्या गरेको थियो, आज बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

परिवारको वियोग र श्रद्धाञ्जलि

कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका र हमासको आक्रमणमा अपहरण भई बन्धक बनाइएका विपीनको जीवनलीला टाउकोमा गोली हानी समाप्त गरिएको फरेन्सिक रिपोर्टले पुष्टि गरेको छ। विभिन्न पीडादायी प्रक्रियापछि उनको पार्थिव शरीर सोमबार काठमाडौँ हुँदै राति अबेर महेन्द्रनगरस्थित घरमा पुग्दा परिवारको आँसुको बाँध टुट्यो ।

भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दुस्खित हृदयका साथ दागबत्ती दिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर शहीदको सम्मान गरे भने सशस्त्र प्रहरीको टोलीले सलाम अर्पण गर्‍यो ।

अन्तर्राष्ट्रिय शोक

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास स्वयं भुजेलाघाट पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाए । राजदूतले विपीनको शवमा इजरायली झण्डा ओढाउँदा दुई देशको गहिरो वियोग स्पष्ट देखिन्थ्यो ।

विपीनको अप्रत्याशित अन्त्यले कञ्चनपुर मात्र होइन, सिङ्गो नेपाल शोकमा डुबेको छ। सकुशल फर्किने आशामा बसेको हरेक नेपालीको मनमा गहिरो घाउ छोडेर उनी महाकालीमा बिलाए, अमर शहिद बनेर ।


सम्बन्धित समाचार
भर्खरै